युद्धको असरः भविष्य जोगाउन युक्रेनले सैनिकको शुक्रकीट सुरक्षित राख्दै

mayukarajkumari

युक्रेन

रूससँगको युद्धका कारण गहिरिँदै गएको जनसंख्या संकट सामना गरिरहेको युक्रेनले सैनिकहरूको भविष्य सुरक्षित गर्न नयाँ कार्यक्रम सुरु गरेको छ। यसअन्तर्गत युद्धमा खटिएका सैनिकहरूको शुक्रकीट निःशुल्क रूपमा सुरक्षित (फ्रिज) राख्ने व्यवस्था गरिएको छ।

पूर्वी मोर्चामा कार्यरत ३५ वर्षीय एक सैनिकले युद्धमा ज्यान जाने जोखिम उच्च भएकाले परिवारको भविष्यका लागि आफ्नो शुक्रकीट सुरक्षित गराएको बताए। उनको भनाइमा युद्धले केवल मानिसको ज्यान मात्र होइन, देशको भावी पुस्तामाथि पनि असर पारिरहेको छ।

रूसको पूर्ण आक्रमण सुरु भएपछि सन् २०२२ देखि निजी प्रजनन केन्द्रहरूले सैनिक तथा सैनिक परिवारलाई यस्तो सेवा दिन थालेका थिए। पछि संसदले कानुनी व्यवस्था गर्दै राज्यबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। नयाँ नियमअनुसार सैनिकको मृत्यु भए पनि लिखित सहमतिका आधारमा जीवनसाथीले सुरक्षित राखिएको शुक्रकीट प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

युद्धअघि नै घट्दो जन्मदरको समस्यामा रहेको युक्रेनमा हजारौँ युवा सैनिकको मृत्यु, लाखौँ नागरिकको विदेश पलायन तथा निरन्तर आक्रमणका कारण अवस्था झन् गम्भीर बनेको छ। मिसाइल र ड्रोन आक्रमणको डर, तनाव र असुरक्षाले गर्भधारण दर पनि घटेको चिकित्सकहरूले बताएका छन्।

कीभस्थित प्रजनन चिकित्सा केन्द्रका अनुसार युद्ध सुरु भएयता गर्भवती बिरामीको संख्या आधाले घटेको छ। धेरै दम्पतीले असुरक्षाका कारण सन्तान जन्माउने निर्णय स्थगित गरेका छन्।

युद्धमा ज्यान गुमाएका सैनिकका परिवारले सुरक्षित राखिएको जैविक सामग्री प्रयोग गर्न कानुनी जटिलता पनि भोग्नुपरेको छ। केही घटनापछि कानून संशोधनको तयारी भइरहेको जनाइएको छ।

सरकारका अनुसार यो कार्यक्रम युद्धपछि देशको जनसंख्या पुनःस्थापना गर्ने सानो तर महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया