चितवनमा २५० घडियाल गोही राप्ती नदीमा छाडियो

mayukarajkumari

चितवन, 

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोही चालु आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ। यी गोही राप्ती नदीका विभिन्न स्थानमा पुन: प्राकृतिक जीवनका लागि छाडिएका हुन्।

गत आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए। हालसम्म केन्द्रमा हुर्काइएका कुल २,२८० गोही विभिन्न नदीमा छाडिएका छन्। निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, नारायणी नदीमा ४१९, राप्तीमा १,५२५, कालीगण्डकीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ गोही छाडिएका छन्।

त्यसैगरी बबइ नदीमा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्तीमा १० गोही नदीमा छाडिएका छन्। हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ गोही छन्। झण्डै पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिन्छ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएदेखि सन् १९८१ देखि गोहीका बच्चा नदीमा छाड्न थालिएको हो। हालसम्म सबैभन्दा बढी गोही राप्ती नदीमा छाडिएका छन्, जुन नेपालमा घडियालको उच्च जनसंख्या भएको नदी हो। नदी किनारमा अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरिन्छ र तीनै चल्ला हुर्काएर नदीमा पुन: छाडिन्छ।

प्राकृतिक वातावरणमा छाडिएका बच्चा गोहीमध्ये केही मात्र जीवित रहन्छन्। धेरैजसो नदी बगेर भारततर्फ जाने, जालमा परेर मारिने वा प्रदूषणका कारण उच्च जोखिममा पर्ने गर्छन्।

प्रतिक्रिया