कैलाली,
कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको अचानक फेरबदलले अन्नबाली नष्ट हुने खतरा बढेपछि किसान चिन्तित बनेका छन्। खेतमा गहुँ, मसुरोलगायत बाली पाकेर भित्र्याउने अवस्थामा पुगेको भए पनि अस्थिर मौसमले बालीमा क्षति पुग्ने डर बढाएको छ।
कैलारी गाउँपालिका–७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गर्नुभएको छ। उहाँका अनुसार गहुँ पाकेर भित्र्याउने बेलामा पुगेको छ भने मसुरो केही पाकेको र केही फूल फुल्ने अवस्थामा छ। “केही दिनअघि आएको पानीसँगै हावाहुरीले गहुँ र मसुरोमा केही क्षति पुर्याएको थियो,” उहाँले बताउनुभयो। “हिजोआज पनि मौसम छिनछिनमा फेरबदल भइरहेकाले चिन्ता बढेको छ।”
स्थानीय किसान नन्दराम साउँदले पनि भने, “कहिले घाम लाग्छ, कहिले बादलले पानी पर्छ, मौसमको ठेगान नहुँदा पाकेको बालीमा नोक्सान हुने डर बढेको छ।” अस्थिर मौसम, बेमौसमी वर्षा र हावाहुरीले गहुँबाली ढल्ने, भाँचिने वा खेतमै बिग्रिने सम्भावना रहेको उनले जनाउनुभयो।
कैलालीका किसानहरू मौसम एकनाश नहुँदा गहुँ भित्र्याउने समयमा विशेष सतर्कता अपनाउन बाध्य भएका छन्। पछिल्ला केही दिनयता आएको आकस्मिक मौसम परिवर्तनले किसानहरूलाई बाली जोगाउन सकस भएको छ भने अन्नबालीमा हुने सम्भावित क्षतिको चिन्ता दिन प्रतिदिन बढ्दै गएको छ।