अमेरिकी वित्तीय अपराधी जेफ्री एपस्टिनको मृत्यु भएको वर्षौँ बितिसक्दा पनि उनको सम्पत्ति र धेरै गोप्य कागजात अझै उनका दुई नजिकका सहयोगीको नियन्त्रणमै रहेको खुलासा भएको छ। एपस्टिनले आफ्नो वसीयतमार्फत आफ्नो सम्पत्ति व्यवस्थापन गर्ने जिम्मा लेखापाल रिचर्ड कान र वकिल डारेन इन्डाइकलाई दिएका थिए। यी दुई अहिले एपस्टिनको सम्पत्ति तथा कागजातको व्यवस्थापन गर्ने मुख्य कार्यकारी (executor) को रूपमा रहेका छन्।
सन् २०१९ मा एपस्टिनलाई बाल यौन तस्करीको आरोपमा पक्राउ गर्दा फेडरल ब्यूरो अफ इन्भेस्टिगेसनले न्यूयोर्कस्थित उनको निवासमा छापा मारेको थियो। छापामार्दा त्यहाँको एक सेफमा नगद, हीरा, पासपोर्ट, कम्प्युटर हार्ड ड्राइभ र विभिन्न कागजात भेटिएका थिए। तर कानुनी प्रक्रियासम्बन्धी समस्या भएपछि एजेन्टहरूले ती सामग्री तत्काल जफत गर्न सकेनन्। पछि पुनः फर्किँदा सेफ खाली गरिएको पाइएको र ती सामग्री दुई सुटकेसमा राखेर रिचर्ड कानको घर पठाइएको आरोप एफबीआई कागजातमा उल्लेख छ।
एपस्टिनले जेलमै मृत्यु हुनुभन्दा दुई दिनअघि आफ्नो सम्पूर्ण सम्पत्ति ट्रस्टमा सार्दै त्यसको व्यवस्थापन कान र इन्डाइकलाई जिम्मा दिएका थिए। एपस्टिनको सम्पत्ति करिब ६३५ मिलियन अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ। उनीहरूले बचेका पीडितलाई क्षतिपूर्ति दिने कार्यक्रमसमेत सञ्चालन गरेका छन्, जसअन्तर्गत सयौँ महिलालाई करोडौँ डलर क्षतिपूर्ति दिइएको छ।
तर अदालतका कागजातहरूमा यी दुई व्यक्तिले एपस्टिनका वित्तीय कारोबार र कम्पनीहरू सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेलेको आरोप लगाइएको छ। केही कागजातमा उनीहरूलाई एपस्टिनको वित्तीय खातामा हस्ताक्षर गर्ने अधिकार भएको, विभिन्न कम्पनीमार्फत रकम सारिएको तथा पीडितहरूलाई पैसा भुक्तानी गरिएको उल्लेख गरिएको छ। यद्यपि कान र इन्डाइकले आफूहरूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन्।
यसैबीच एपस्टिनको आपराधिक सञ्जालबारे अनुसन्धान गरिरहेको अमेरिकी संसदीय समिति संयुक्त राज्य अमेरिकाको हाउस ओभरसाइट कमिटीले यी दुईलाई बयानका लागि बोलाएको छ। समितिसमक्ष उनीहरूको बयानबाट एपस्टिनको आर्थिक सञ्जाल र गतिविधिबारे थप जानकारी खुल्ने अपेक्षा गरिएको छ।