कर्णाली सरकारले २०८३ मा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

mayukarajkumari

कर्णाली,

कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ मा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सुर्खेत वीरेन्द्रनगर मा आज बसेको मन्त्रिपरिषद् बैठकले यस निर्णय गरेको जानकारी कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह ले दिनुभयो।

प्रवक्ता शाहका अनुसार प्रदेश सरकारले चैत १२ गते धान दिवस र असोज २२ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उहाँले भन्नुभयो, “यद्यपि असोज २२ को बिदा जुम्ला जिल्लाका लागि मात्रै लागू हुनेछ। राष्ट्रिय धान दिवस असार १५ मा भने जुम्लाबाहेक अन्य प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा दिइनेछ।”

त्यसैगरी, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, र कात्तिक ८ गते कोजाग्रत पूर्णिमामा प्रदेशभर सार्वजनिक बिदा रहने प्रवक्ता शाहले जानकारी दिनुभयो।

बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूची २ मा आवश्यक हेरफेर गरी उक्त सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया