चार वर्षपछि पहिलोपटक कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

mayukarajkumari


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षपछि पहिलोपटक प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। अमेरिका र इजरायलबीच इरानसँग बढ्दै गएको युद्धका कारण तेल आपूर्तिमा अवरोध आउन सक्ने आशंका बढेपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको हो। विशेषगरी फारसको खाडी क्षेत्रस्थित स्ट्रेट अफ हर्मुजमार्फत हुने तेल ढुवानी प्रभावित हुन सक्ने चिन्ताले बजारमा दबाब बढाएको विश्लेषकहरूले बताएका छन्।

सप्ताहन्तमा अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि तेल भण्डारण केन्द्रसहित ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताइएको छ। यसैबीच इरानले सर्वोच्च नेता अली खामेनीका उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई घोषणा गरेको छ, जसले देशमा कडा धारका नेतृत्व अझै कायम रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

सोमबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य करिब १५.५ प्रतिशतले बढेर प्रति ब्यारेल १०७.१६ डलर पुगेको थियो भने नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले बढेर १०६.७७ डलर पुगेको छ। तेलको मूल्य अचानक बढेपछि एसिया–प्रशान्त क्षेत्रका सेयर बजारमा पनि गिरावट देखिएको छ। जापानको निक्केई २२५ सूचक पाँच प्रतिशतभन्दा बढीले घटेको छ भने अस्ट्रेलियाको एएसएक्स २०० सूचक पनि तीन दशमलव पाँच प्रतिशतभन्दा बढीले घटेको छ।

विश्लेषकहरूका अनुसार यदि स्ट्रेट अफ हर्मुज क्षेत्रमा तेल ढुवानी लामो समयसम्म अवरुद्ध भयो भने कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने सम्भावना रहेको छ। तेलको मूल्य बढेसँगै पेट्रोल, जेट इन्धन तथा मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य पनि बढ्न सक्ने भएकाले विश्वभर उपभोक्ता र व्यवसायहरू प्रभावित हुनसक्ने चेतावनी दिइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आणविक खतरा हटाउनका लागि छोटो समयका लागि तेलको मूल्य बढ्नु “सानो मूल्य” भएको प्रतिक्रिया दिनुभएको छ। उनका ऊर्जा सचिवले भने इरानको ऊर्जा संरचनामाथि आक्रमण इजरायलले गरिरहेको बताउँदै अमेरिका प्रत्यक्ष रूपमा संलग्न नभएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया