रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्यकोषमा १२ लाखभन्दा बढी जम्मा

mayukarajkumari

रौतहट,

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै रौतहट जिल्लामा एउटा रोचक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये ठूलो सङ्ख्याले आफ्नो जमानत जोगाउन नसकेको देखिएको छ। निर्वाचनमा उठेका झण्डै ९० प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चुनावी प्रतिस्पर्धामा उत्रिएका कुल १४२ उम्मेदवारमध्ये १२८ जनाले आवश्यक न्यूनतम मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको हो। कानुनी प्रावधानअनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम राज्यकोषमा दाखिल हुने व्यवस्था रहेको छ।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा २६ जना उम्मेदवारमध्ये २३ जनाले आफ्नो धरौटी गुमाएका छन्। यस क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीका उम्मेदवारसमेत न्यूनतम मत कटाउन असफल भएको बताइएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी ४० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। तीमध्ये ३७ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाजस्ता ठूला दलका केही उम्मेदवारले समेत १० प्रतिशत मत ल्याउन नसकेका कारण उनीहरूको धरौटी जफत भएको अधिकारी दासले जानकारी दिनुभयो।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा पनि नेकपा एमाले, जनता समाजवादी पार्टी तथा अन्य दलका उम्मेदवारले आवश्यक न्यूनतम मत प्राप्त गर्न सकेनन्।

निर्वाचन कार्यालयका अनुसार प्रति उम्मेदवार १० हजार रुपैयाँका दरले जफत भएको धरौटी रकमबाट कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्व खातामा जम्मा भएको छ। विजयी उम्मेदवारसहित जमानत जोगाउन सफल भएका १४ जनाले भने प्रक्रिया पूरा गरी निवेदन दिएपछि आफ्नो धरौटी रकम फिर्ता पाउनेछन्।

यो तथ्याङ्कले रौतहटको चुनावी राजनीतिमा सीमित दल र उम्मेदवारको प्रभाव कायम रहेको तथा स्वतन्त्र र साना दलका उम्मेदवारप्रति मतदाताको आकर्षण अपेक्षाकृत कम रहेको देखाएको छ।

प्रतिक्रिया