काठमाडौं,
सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीश नियुक्तिका लागि छ जना न्यायाधीशको नाम सिफारिस गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीश पदका लागि न्यायपरिषद्ले उक्त नामहरू सिफारिस गरेको हो।
हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण चैत १८ गते अवकाश हुँदै हुनुहुन्छ। उहाँको अवकाशपछि रिक्त हुने पदमा नयाँ प्रधानन्यायाधीश नियुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाइएको हो।
न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुँयाल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदीको नाम सिफारिस गरेको जनाएको छ।
सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष सेवा गरेका न्यायाधीशहरू प्रधानन्यायाधीश पदका लागि योग्य मानिने व्यवस्था रहेको छ। कानुनी व्यवस्थाअनुसार प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने प्रावधान छ।
संवैधानिक परिषद्बाट सिफारिस गरिएको प्रस्तावित प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र औपचारिक रूपमा नियुक्ति गरिने व्यवस्था रहेको छ।