म्याग्दी,
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाअन्तर्गत उक्त सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउँदै अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाका विभिन्न वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीसँग रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरिएको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार १३ किलोमिटरमध्ये ९६० मिटर बाहेक अधिकांश भागमा कालोपत्र र ढलानको काम सम्पन्न भएको छ ।
उहाँका अनुसार ढलान र कालोपत्र सकिएका स्थानमा अहिले रङरोगन तथा सुरक्षा पूर्वाधार जडानको काम भइरहेको छ । वारीबेनी क्षेत्रको ७६० मिटर तथा केराबारी र फर्से पहिरो प्रभावित क्षेत्रमा करिब एक–एक सय मिटर सडक घरधनीको असहमति र पहिरो जोखिमका कारण ठेक्काबाट हटाइएको बताइएको छ ।
विसं २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको योजना कोरोना महामारी, बाढीपहिरो तथा निर्माण सामग्री अभावका कारण ढिलाइ भएको थियो । सहायक ठेकेदारले काम अलपत्र पारेपछि एक वर्षअघि मुख्य ठेकेदार पुनः कार्यक्षेत्रमा फर्किएर निर्माण कार्यलाई तीव्रता दिएका थिए ।
गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान गरिएको थियो भने गत मङ्सिरदेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्र सम्पन्न भई प्राविधिक नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले जानकारी दिनुभयो ।
यो सडक म्याग्दी, मुस्ताङ र पर्वतका स्थानीय बासिन्दा, पर्यटक तथा तीर्थयात्रीका लागि मुख्य आवतजावत मार्ग हो । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा ट्र्याक खुलेको यस सडक २०६८ सालमा एकतर्फी कालोपत्र गरिएको थियो । मुस्ताङ र कोरलानाका सडक सञ्जालसँग जोडिएपछि सवारी चाप बढ्दा साँघुरो सडक जीर्ण बन्दै गएको थियो ।
सडक स्तरोन्नतिपछि यात्रा सहज भएको यातायात व्यवसायी बुद्धि पुनले बताउनुभयो । उहाँका अनुसार पहिले करिब एक घण्टा लाग्ने यात्रा अब १५ देखि २० मिनेटमै पूरा हुने भएको छ । जलजला गाउँपालिका–७ मिलनचोकका स्थानीय बाबुराम कार्कीले पनि सडक कालोपत्र भएपछि धुलो, हिलो र जोखिमपूर्ण यात्राबाट मुक्ति मिलेको प्रतिक्रिया दिनुभयो ।