फोहर वर्गीकरण र बिक्रीबाट सात महिनामा रु १४ लाख आम्दानी

mayukarajkumari

दमौली (तनहुँ), 

तनहुँ
को व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्रीमार्फत चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाख भन्दा बढी आम्दानी गरेको छ। साउनदेखि माघ महिनासम्म विभिन्न पुनः प्रयोगयोग्य फोहर बिक्री गरी नगरपालिकाले कुल रु १४ लाख ५० हजार ६ सय ११ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो।

नगरपालिकाले फोहरमैला र सिसाजन्य वस्तु बिक्रीबाट आम्दानी गरेको हो। फोहरमैला व्यवस्थापनमा चुनौती भए पनि नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्ने व्यवस्था थालेको छ। कुहिने र नकुहिने फोहर अलग्गै सङ्कलन गरी बिक्री योग्य फोहर बिक्री गरी आम्दानी भइरहेको लम्सालले बताउनुभयो। उहाँका अनुसार, “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिने फोहर छुट्टै गाडीमा र नकुहिने छुट्टै गाडीमा सङ्कलन भइरहेको छ।”

बैकुण्ठ न्यौपानेले नगरपालिकाले नकुहिने फोहरभित्र पनि सिसा, प्लास्टिक, कागज जस्ता वस्तु छुट्याएर मेसिनमार्फत कम्प्रेस गरी बिक्री गर्न सुरु गरेको जानकारी दिनुभयो। यसले नगरपालिकालाई आन्तरिक स्रोत वृद्धि गर्न सहयोग पुगेको छ।

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा र विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ। कार्यालय परिसरभित्र पनि नकुहिने फोहरबाट कागज, सिसा र प्लास्टिक छुट्याएर बिक्री भइरहेको छ। कुहिने फोहर भने दुम्सी गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम भइरहेको छ।

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ र बजार क्षेत्रबाट दैनिक करिब ११ टन फोहर सङ्कलन हुने गरेको छ। नगरपालिकाले ३२ वर्षदेखि समस्या रहेको फोहरमैला व्यवस्थापनको स्थायी समाधानका लागि विभिन्न प्रयास गरिरहेको छ।

प्रतिक्रिया