काठमाडौँ
सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणराज्य इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा दुई साताका लागि युद्धविराम गर्ने सहमति पश्चिम एसियामा तनाव घटाउने सकारात्मक कदम भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि यो सम्झौताले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सृजना गरेको छ। सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फ सकारात्मक पहलका रूपमा लिएको छ र विवादको शान्तिपूर्ण समाधान आवश्यक रहेकोमा जोड दिएको छ।
साथै, युद्ध र द्वन्द्वका कारण उत्पन्न मानवीय प्रभावप्रति सरकारले चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएको छ। सरकारले क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय समुदायबाट भइरहेका प्रयासप्रति समर्थन व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।