निर्वाचन सुरक्षालाई लक्षित गर्दै रौतहटमा विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा प्रतिबन्ध

mayukarajkumari

रौतहट

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै फागुन १७ गतेदेखि फागुन २१ गतेसम्म उक्त निर्णय लागू हुने जनाएको हो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यस्तो कदम चालिएको प्रशासनले जनाएको छ । सीमावर्ती क्षेत्रबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौती तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न पाँच दिनका लागि विदेशी सवारी साधन सञ्चालन निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रशासनका अनुसार निर्वाचन सुरक्षा योजनाअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने समग्र सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । जारी गरिएको प्रतिबन्धको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने समेत जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया