वासिङ्टन,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकसँग अमेरिकी सरकारी निकायहरूले गरिरहेको सहकार्य तत्काल रोक्न निर्देशन दिएका छन्। ट्रुथ सोसलमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले सबै संघीय निकायलाई एन्थ्रोपिकको प्रविधि प्रयोग बन्द गर्न आदेश दिएको बताएका छन्। आगामी छ महिनाभित्र सरकारी कामकाजबाट उक्त कम्पनीका एआई उपकरण पूर्ण रूपमा हटाइने जनाइएको छ।
एन्थ्रोपिक र ट्रम्प प्रशासनबीच एआई प्रविधि युद्धक्षेत्र तथा आन्तरिक सुरक्षा क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने विषयमा विवाद चर्किएको छ। कम्पनीका प्रमुख डारियो अमोडेईले एआई उपकरण सामूहिक निगरानी तथा पूर्ण स्वचालित हतियार प्रणालीमा प्रयोग हुन सक्ने चिन्ताका कारण पेन्टागनको माग स्वीकार नगर्ने अडान लिएका थिए। पेन्टागनले भने एआई उपकरणमा पूर्ण पहुँच माग गरेको थियो।
ट्रम्पले एन्थ्रोपिकलाई “अनियन्त्रित” र “वामपन्थी सोचबाट प्रभावित” कम्पनी भन्दै आलोचना गरेका छन्। रक्षा मन्त्रालयले कम्पनीलाई ‘सप्लाई चेन जोखिम’को सूचीमा राख्ने चेतावनीसमेत दिएको छ, जसका कारण सैन्य क्षेत्रसँग सम्बन्धित अन्य कम्पनीहरूले पनि एन्थ्रोपिकसँग व्यावसायिक सम्बन्ध राख्न नपाउने सम्भावना रहेको छ।
यस विवादबीच प्रविधि उद्योगभित्र पनि बहस चर्किएको छ। ओपनएआईका प्रमुख साम अल्टम्यानले एन्थ्रोपिकको एआई प्रयोगसम्बन्धी सावधानीपूर्ण अडानलाई समर्थन जनाएका छन्। करिब सात लाख प्रविधि कर्मचारीको प्रतिनिधित्व गर्ने श्रमिक समूहहरूले समेत युद्धसम्बन्धी प्रयोगका लागि एआई प्रयोग नगर्न कम्पनीहरूलाई आग्रह गरेका छन्। हाल एन्थ्रोपिक र अमेरिकी रक्षा मन्त्रालयबीच करिब २० करोड डलरको सम्झौता रहेको बताइएको छ।