राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा मानवीय भिसा

mayukarajkumari

क्यानबेरा, 

एशियन कप फुटबल प्रतियोगितामा राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि विवादमा परेका इरानका पाँच महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको छ। अष्ट्रेलियाली सरकारले उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ। इरान फर्किएपछि उनीहरूलाई जोखिम हुनसक्ने आशंका व्यक्त भएपछि यो कदम चालिएको हो।

अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार ती खेलाडीहरूलाई अष्ट्रेलियाली प्रहरीले सुरक्षित स्थानमा सारिएको छ। भिसा प्राप्त गर्ने खेलाडीहरूमा फातेमेह पसन्दिदेह, जहरा घनबरी, जहरा सरबाली, आतिफेह रमजानजादेह र मोना हमुदी रहेका छन्। मन्त्री बर्कले उनीहरू राजनीतिक कार्यकर्ता नभई सुरक्षित रूपमा खेलकुद जीवन अघि बढाउन चाहने खेलाडी मात्र भएको बताएका छन्।

गत साता दक्षिण कोरियाविरुद्धको खेलअघि इरानी टोलीले राष्ट्रिय गान नगाएको घटनापछि इरानमा उनीहरूको आलोचना भएको थियो। केही कट्टरपन्थी टिप्पणीकारहरूले टोलीलाई ‘युद्धकालीन देशद्रोही’ भन्दै कडा कारबाहीको माग गरेका थिए। त्यसपछि समर्थक र मानवअधिकारकर्मीहरूले खेलाडीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै अष्ट्रेलिया सरकारसँग उनीहरूलाई आश्रय दिन आग्रह गरेका थिए।

अष्ट्रेलियाको मानवीय भिसा कार्यक्रम अन्तर्गत आश्रय पाउने व्यक्तिले त्यहाँ स्थायी रूपमा बस्न, काम गर्न र अध्ययन गर्न पाउने व्यवस्था रहेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि पाँच खेलाडीलाई भिसा दिइएको पुष्टि गर्दै अन्य टोली सदस्यलाई पनि चाहिएको खण्डमा बस्न सक्ने अवसर उपलब्ध रहेको बताएका छन्।

यस घटनापछि अष्ट्रेलियामा रहेका इरानी समुदायका सयौँ समर्थकहरूले खेलाडीहरूको समर्थनमा प्रदर्शन गरेका थिए। उनीहरूले “हाम्रा छोरीहरूलाई बचाऊ” भन्दै नाराबाजी गरेका थिए। खेलाडीहरू सुरक्षित रूपमा रहून् भन्ने माग गर्दै मानवअधिकारकर्मीहरूले अष्ट्रेलिया सरकारलाई नैतिक नेतृत्व देखाउन आग्रह गरेका छन्।

प्रतिक्रिया