क्यामरुन,
क्यामरुनको द्वन्द्वग्रस्त अंग्रेजीभाषी क्षेत्रमा सर्वसाधारणको हत्या गरेको अभियोगमा तीन सैनिकलाई जेल सजाय सुनाइएको छ। सैनिक अदालतले कम्तीमा २१ नागरिकको हत्या प्रकरणमा संलग्न ठहर गर्दै उनीहरूलाई पाँचदेखि १० वर्षसम्म कैद सजाय दिएको हो।
सन् २०२० फेब्रुअरी १४ मा उत्तर–पश्चिम क्षेत्रको नगार्बुह गाउँमा सैनिकहरूले स्थानीय मिलिसियासहित छापा मार्दा १३ बालबालिकासहित धेरै नागरिक मारिएका थिए। मानवअधिकार संस्थाहरूका अनुसार घटनाका क्रममा घरहरू जलाइएको तथा स्थानीय बासिन्दामाथि कुटपिट समेत गरिएको थियो।
सैनिकमाथि हत्या, आगजनी र सम्पत्ति नष्ट गरेको अभियोग प्रमाणित भएपछि सजाय सुनाइएको भए पनि पीडित पक्षका कानुन व्यवसायीहरूले सजाय निकै कम भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले यस्तो घटनाका लागि कम्तीमा ३० वर्षसम्म कैद हुनुपर्ने बताएका छन्।
घटनापछि प्रारम्भमा सरकारले सैनिकको संलग्नता अस्वीकार गरेको थियो। तर अन्तर्राष्ट्रिय दबाब र अनुसन्धानपछि सरकारले जिम्मेवारी स्वीकार गर्दै मुद्दा अघि बढाएको थियो। अदालतले क्षतिपूर्तिको माग भने अस्वीकार गरेको छ।
क्यामरुनका अंग्रेजीभाषी क्षेत्रमा सन् २०१७ देखि पृथकतावादी आन्दोलनका कारण हिंसात्मक द्वन्द्व जारी छ। संयुक्त राष्ट्रसंघका अनुसार यस द्वन्द्वमा हालसम्म कम्तीमा ६ हजार मानिसको ज्यान गएको छ भने पाँच लाखभन्दा बढी विस्थापित भएका छन्।