अफगानिस्तान
पाकिस्तानले अफगानिस्तानमा रातभरि हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा १८ जनाको मृत्यु भएको तालिबान प्रशासनले जनाएको छ। मृत्यु हुनेमध्ये महिला र बालबालिका पनि रहेको बताइएको छ। पाकिस्तान ले सीमा क्षेत्र नजिक रहेका सात वटा कथित आतङ्ककारी अड्डा र लुक्ने स्थानलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
तालिबान नेतृत्वको अफगानिस्तान सरकारले भने आक्रमणमा सर्वसाधारणका घर तथा धार्मिक विद्यालयलाई निशाना बनाइएको आरोप लगाएको छ। विशेषगरी नाङ्गरहार र पक्तिका प्रान्तका बस्तीहरू प्रभावित भएका छन्। नाङ्गरहारको एक गाउँमा भएको आक्रमणमा एउटै परिवारका धेरै सदस्य मारिएको स्थानीयले बताएका छन्, जहाँ २३ जनामध्ये पाँच जना मात्र जीवित रहेको जनाइएको छ।
पाकिस्तानको सूचना मन्त्रालयले हालै पाकिस्तानभित्र भएका आत्मघाती आक्रमणको प्रतिशोधस्वरूप कारबाही गरिएको जनाएको छ। पाकिस्तानले प्रतिबन्धित समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) तथा इस्लामिक स्टेट–खोरासानसँग सम्बन्धित लडाकुहरूलाई लक्षित गरिएको दाबी गरेको छ। इस्लामाबादले अफगान तालिबानले सीमा क्षेत्रमा सक्रिय लडाकुहरूविरुद्ध पर्याप्त कदम नचालेको आरोपसमेत लगाएको छ।
यता तालिबानको रक्षा मन्त्रालयले आक्रमणलाई अफगानिस्तानको सार्वभौमिकतामाथिको ठाडो उल्लंघन भन्दै अन्तर्राष्ट्रिय कानुनविपरीत कार्य भएको जनाएको छ। साथै उचित समयमा जवाफ दिने चेतावनी पनि दिएको छ। दुई देशबीच गत अक्टोबरमा भएको झडपपछि युद्धविराम भए पनि सीमा क्षेत्रमा तनाव भने निरन्तर कायम रहेको छ।
पाकिस्तान र अफगानिस्तानबीच करिब २,५७४ किलोमिटर लामो पहाडी सीमा रहेको छ, जहाँ लामो समयदेखि सुरक्षा चुनौती र सशस्त्र समूहको गतिविधिका कारण द्वन्द्व दोहोरिँदै आएको छ।