कैदीबन्दीद्वारा विभिन्न कारागारमा मतदान सम्पन्न

mayukarajkumari



प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर कारागारमा कैदीबन्दीका लागि स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार कारागार कार्यालयमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा करिब ३० मिनेटमै मतदान प्रक्रिया सम्पन्न भएको हो। जलेश्वर कारागारमा रहेका तीन सय ९१ कैदीबन्दीमध्ये २१ जनाको मात्रै मतदाता नामावलीमा नाम रहेकामा ती सबैले मतदान गर्दै शतप्रतिशत मत खसालेका छन्। मतदान अधिकृत अशोककुमार क्षेत्रीका अनुसार सबै २१ जना मतदाताले मतदान गरेका हुन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा स्थापना गरिएका तीन अस्थायी मतदान केन्द्रमध्ये जलेश्वर कारागार केन्द्रमा शतप्रतिशत मतदान सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ र प्रारम्भिक रूपमा करिब १० प्रतिशत मतदान भइसकेको छ।

यसैगरी सप्तरीको राजविराजस्थित कारागारमा पनि कैदीबन्दीद्वारा मतदान सम्पन्न भएको छ। मतदान अधिकृत उमेश अर्यालयका अनुसार कैदीबन्दी र कर्मचारीसहित ६८ जनाले मतदान गरेका छन्। कारागारमा कुल ६९ मतदाता रहेका थिए, जसमध्ये ६६ जनाले समानुपातिकतर्फ मतदान गरेका हुन्। तीमध्ये दुई जना कर्मचारी पनि सहभागी भएका थिए। दुई जना कैदी सजाय भुक्तान गरेर मुक्त भइसकेका तथा एक जना अन्यत्र कारागारमा सरुवा भएकाले तीन जनाले मतदान गर्न नपाएको जानकारी दिइएको छ। निमित्त जेलर सुशील कर्णका अनुसार कारागारमा हाल २१ जना महिलासहित कुल ३५२ कैदीबन्दी रहेका छन्। कैदीबन्दीलाई पनि मतदानको अधिकार सुनिश्चित गर्न कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो।

बागलुङ जिल्ला कारागारमा पनि अस्थायी मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको छ। यहाँ कुल ५५ मतदाता रहेकामा ५३ कैदीबन्दी र दुई कर्मचारी थिए। मतदान अधिकृत धीरेन्द्रराज पन्तका अनुसार कुल ५३ मत खसेका छन्, जुन ९६.३६ प्रतिशत हो। मतदाता नामावलीमा नाम भएका ५३ कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैदमुक्त भइसकेकाले ५१ कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका हुन्। मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रक्रिया सुरु गरिएको छ। बागलुङ जिल्लामा दुई अस्थायी मतदान केन्द्र, १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्र रहेका छन् भने कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन्।

कास्कीको कारागार कार्यालयमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा पनि शतप्रतिशत मतदान भएको छ। मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार निर्वाचन आयोगको नामावलीमा सूचीकृत ३८ जनामध्ये एक जना धरौटीमा छुटेकाले ३७ जना मतदाता रहेका थिए र सबैले मतदान गरेका छन्। साथै तीन जना कर्मचारीले पनि मतदान गरेकाले यस केन्द्रबाट कुल ४० मत खसेका छन्। कारागारमा ६९७ कैदीबन्दी भए पनि मतदाता नामावलीमा ३८ जनाको मात्रै नाम रहेको थियो। निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। कास्कीमा दुई अस्थायी मतदान केन्द्रसहित ३६५ मतदान केन्द्र र १५३ मतदानस्थल रहेका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ।

पर्साको वीरगञ्ज कारागारमा रहेका ३२ जना कैदीबन्दीले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतदान गरेका छन्। कारागार परिसरमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा ३७ जना मतदाता रहेकोमा ३२ जनाले मतदान गरेका हुन्। मतदान अधिकृत यादवकुमार जोशीका अनुसार यहाँ कारागार कर्मचारी र सुरक्षाकर्मी ३० जना तथा निर्वाचनमा खटिएका तीन कर्मचारी गरी कुल ७० मतदाता रहेका छन्। कारागारमा एक हजार २०० भन्दा बढी कैदीबन्दी भए पनि अधिकांशको मतदाता नामावलीमा नाम नभएकाले सीमित संख्यामा मात्रै मतदान भएको हो। यही केन्द्रबाट कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेका हुन्। साथै पर्साका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले जिल्ला हुलाक कार्यालयमा तोकिएको मतदान केन्द्रमार्फत मतदान गरिरहेका छन्, जहाँ एक हजार ९० अस्थायी मतदाता रहेका छन्।

यसैबीच सुर्खेत जिल्ला कारागारमा रहेका सबै मतदाताले मतदान गरेका छन्। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादुर गुरुङका अनुसार कारागारमा १०३ मतदाता रहेकोमा केही सजाय भुक्तान गरी छुटेका र केही अन्यत्र सरुवा भएकाले १५ जना अनुपस्थित रहे। बाँकी रहेका ८८ जनाले मतदान गरेका छन्। तीमध्ये आठ महिला र ८० पुरुष रहेका छन्। मतदान सम्पन्न भए पनि आयोगले साँझ ५ बजेसम्म समय तोकेकोले सो अवधिसम्म मतदान केन्द्र सञ्चालनमा रहने जनाइएको छ। सुर्खेत जिल्लामा दुई अस्थायीसहित १४२ मतदानस्थल र तीन अस्थायीसहित ३०५ मतदान केन्द्र रहेका छन्।

प्रतिक्रिया