सिद्धार्थनगर (भैरहवा),
रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु ६ लाख २९ हजार २०० बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी रु एक लाख २४ हजारबराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ भने शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट रु २७ हजारबराबरका १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ।
त्यसैगरी मायादेवी गाउँपालिका–६ खल्बटबाट रु ७२ हजार ५०० बराबरका १४१ थान एल्बो सकेट, ८ दशमलव ५ लिटर मोबिल, एक बोरा कुरकुरे र एक बोरा सर्फ बरामद गरिएको प्रहरीले जनाएको छ। देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त कुखुराको मूल्य अन्दाजी रु एक लाख २२ हजार रहेको बताइएको छ।
यस्तै रोहिणी गाउँपालिका–३ लखनौटियाबाट रु २२ हजार १०० बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ। कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकलमार्फत ल्याइँदै गरेको पाँच कार्टुन बिस्कुट, एक बोरा चिनी र दुई बोरा मैदा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी रु एक लाख ११ हजार ६०० रहेको प्रहरीले जनाएको छ।
यसैगरी सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट रु एक लाख ५० हजारबराबरका ३०० थान बेबी सेट, ४०० थान बेबी भेस्ट तथा पाँच थान फलामको चेन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सबै सामान सम्बन्धित निकायमा पठाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।