निर्वाचनका दिन सवारी व्यवस्थापनबारे आयोगको नयाँ व्यवस्था सार्वजनिक

mayukarajkumari

काठमाडौँ,

प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब चार दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोगले मतदानका दिन सवारीसाधन सञ्चालनसम्बन्धी पास व्यवस्थाबारे स्पष्ट पारेको छ । आयोगका अनुसार यही फागुन २१ गते हुने निर्वाचनका दिन अत्यावश्यक सेवासँग सम्बन्धित केही सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

सवारी सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन “सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२” अनुसार निश्चित प्रयोजनका सवारीसाधनलाई पास नचाहिने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगले सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सर्तमा यस्ता सवारीसाधन सञ्चालन गर्न नेपाल सरकारलाई सिफारिस गरिएको उल्लेख गरेको छ ।

आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी सेवा, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक पर्नेछैन । साथै दूरसञ्चार, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारी, अस्पताल सेवा तथा चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका लागि प्रयोग हुने सवारीसाधन पनि निर्वाध सञ्चालन गर्न पाइनेछ । अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु ओसारपसार गर्ने सवारीसाधनलाई समेत पास आवश्यक नपर्ने आयोगले स्पष्ट गरेको छ ।

त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सहज सञ्चालनको व्यवस्था गरिएको छ । ‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारी, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षक, राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई समेत सञ्चालनमा सहजीकरण गरिने जनाइएको छ ।

यसैबीच निर्वाचन आयोग परिसरमा आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित एकीकृत सवारी आवागमन डेस्क स्थापना गरिएको छ । उक्त डेस्कमार्फत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पाससमेत उपलब्ध गराइँदै आएको आयोगले जनाएको छ ।

प्रतिक्रिया