काठमाडौँ,
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अहिले तीव्र गतिमा जारी रहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना का अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ भइरहेको छ।
उहाँले छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्स २०८३ साल असार मसान्तसम्म छापिने लक्ष्य राखिएको बताउनुभयो। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिना ले सुरक्षण मुद्रण केन्द्रलाई छपाइमा अवरोध नआओस् र सबै बाँकी लाइसेन्स छिटो छाप्न निर्देशन दिनुभएको छ। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तयार पारेको १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको कार्ययोजनामा पनि यो विषयलाई प्राथमिकताका साथ राखिएको छ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो।
त्यसैगरी, सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका र वितरण हुने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सजिलै जानकारी लिन सहयोग गर्नेछ।
छपाइ भएका लाइसेन्सहरू हुलाक सेवामार्फत चाँडोभन्दा चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसले वितरण प्रक्रियालाई व्यवस्थित बनाएको छ। यही गतिमा काम अघि बढ्दा लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।